दुई क्विन्टल कागती बेचेर सुरू गरेको 'पैंचो' बन्यो २० करोडको कम्पनी

गुल्मी, छत्रकोटका ध्रुव न्यौपाने एसएलसीपछि 'जेटिए' पढ्न कैलालीको टीकापुर पुगे। यो २०५८ सालको कुरा हो। उनले छात्रवृत्तिमा नाम पनि निकाले। बस्ने-खाने र अरू खर्च भने आफैं जुटाउनुपर्थ्यो।

छ दाजुभाइ र सात दिदीबहिनीबीच जन्मिएका ध्रुव सामान्य किसान परिवारका हुन्। उनलाई आर्थिक लगानी गरेर पढाउने परिवारको क्षमता थिएन। ध्रुवले पनि आफू एक्लै पढेर परिवारको आर्थिक अवस्था उक्सिने सम्भावना देखेनन्। बरू कमाइ हुने काममा लाग्ने निधो गरे।

उनले छात्रवृत्ति त्यागिदिए।

'हामी १३ भाइबहिनी, मैले खर्च गरेर पढे मलाई मात्र हुन्थ्यो। सबैलाई पढाउने क्षमता आमाबुबाको थिएन,' त्यो बेला १९ वर्ष पुगेका ध्रुवले भने, 'मैले होटल व्यवसाय रोजेँ।'

ध्रुवलाई कृषि क्षेत्रका समस्या थाहा थियो। खेतबारी र कान्लामा तरकारी र फलफूल यसै कुहिएको देखेका थिए। यता होटलमा तिनै सामान महँगोमा किन्नुपर्थ्यो। ८० प्रतिशतभन्दा बढी त आयातीत वस्तुले नै ओगटेका थिए।

उनले सोचे- गाउँघरमा उत्पादित वस्तु ल्याएर होटलमा प्रयोग गर्न पाए!

होटल व्यवसायमा सँगै काम गरिरहेका दुर्गाप्रसाद भण्डारी, शरण कर्माचार्य लगायतले उनलाई साथ दिए।

उनी कृषि उत्पादन, प्रशोधन र बजारीकरण अध्ययन गर्न गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाका गाउँगाउँ घुमे। एक महिना अध्ययन गर्दा कृषि उत्पादन बिक्री र बजारीकरणमा राम्रो सम्भावना देखे।

 

'पहाडमा ठूलो परिमाणको कृषि उपज खेर गइरहेको थियो। बारीमा फलेका फर्सी, काँक्रा गाईवस्तुलाई कुँडो पकाएर खुवाउनुपर्ने अवस्था थियो,' ध्रुवले भने, 'ती उत्पादन बजार ल्याउन सके, गाउँकै स्वाद सहरमा पाइन्छ भन्ने लाग्यो।'

यही सोचेर उनीसहित १६ जनाको समूह होटल व्यवसायबाट अलग्गियो। र, यहीँबाट सुरू भयो 'पैंचो पसल' को यात्रा।

 

यसरी जुर्‍यो नाम

गाउँघरतिर भनाइ छ- खेतबारीमा फलेका तरकारी, फलफूल, दूध बेच्नु हुँदैन, पाप लाग्छ।

कतिपय गाउँमा अझै पनि किसानले तरकारी, फलफूल यसै दिएर पठाउँछन्। पाहुनालाई दूध, दही, मही र फलफूलले स्वागत गरिन्छ। बोटबाटै फल टिपेर खान पाइन्छ।

ध्रुव किसानको यस्तो भावनासँग परिचित थिए। उनले कृषि उपजको बदलामा किसानलाई चिनी, चियापत्ती, मरमसला लगायत उपभोग्य वस्तु दिने प्रस्ताव गरे।

किसान सहमत भए।

एउटा घरमा उब्जिएको वस्तु अर्कोलाई दिने र त्यहाँबाट चाहिएको वस्तु आफू लिने चलनलाई गाउँघरमा 'ऐंचोपैंचो' भनिन्छ। यसैलाई व्यावसायिक रूप दिँदा बजारको आवश्यकता पूरा हुने र गाउँको आयश्रोत पनि बढ्ने देखेर ध्रुव र उनको समूहले यो अवधारणा अघि बढायो।

र, नाम दियो- पैंचो।

'किसानको उत्पादन लिने र उनीहरूलाई चाहिएको वस्तु दिने अवधारणा भएकाले हामीले 'पैंचो' नामकरण गरेका हौं,' ध्रुवले भने।

दुर्गा भण्डारी अध्यक्ष र ध्रुव प्रबन्ध निर्देशक भएर सुरू गरेको यो कम्पनीमा शरण कर्माचार्यले मिडिया तथा जनसम्पर्क विभाग सम्हाले।

यसरी बन्यो २० करोडको कम्पनी

गुल्मीको हुंगा, बलेटक्सार, छत्रकोट कृषि उत्पादनका पकेट क्षेत्र हुन्। हावापानी र अनुकूल मौसमका कारण त्यहाँ सिमी, बोडी, फर्सी, लौका, करेला, स्कुस, काँक्राजस्ता लहरे तरकारी र गेडागुडी प्रशस्त उत्पादन हुन्थे। तर, किसानलाई कुन मौसममा के तरकारी लगाउने, कसरी रेखदेख गर्ने, कसरी उत्पादन बढाउने, ज्ञान थिएन।

'पैंचो' टोली कृषि प्राविधिक लिएर किसानको खेतबारीमै पुग्यो।

उनीहरूले माटो परीक्षणदेखि उत्पादन बढाउने तालिम दिए। कतिपय किसानलाई बिउ र मल किन्न पैसा सापट दिए। त्यो पैसा तरकारी किनेर कटाउने सहमति गरियो। उनीहरू आफैं पनि खेतबारीमा तरकारी र फलफूल लगाउन कस्सिए।

यसरी अरूले उत्पादन गरेको वस्तु किनेर तेस्रो पक्षलाई बेच्नु सजिलो थिएन, तर उनीहरूले हिम्मत जुटाए।

पहिलोपटक २०७१ सालमा गाउँबाट दुई क्विन्टल कागती बोकेर बुटवल झारे। बजार ल्याउन नपाउँदै सबै कागती बिक्री भएपछि उनीहरूको हौसला थपियो।

गाउँ छाडेर सहरमा बसे पनि खेतबारीमा उब्जिएको मकै, कोदो, फापर, गिठ्ठा, तरुल, फर्सी, काँक्रा, सागपात, आलु, सिन्की, मस्यौरा खाएर हुर्किएकाले गाउँको स्वाद भुल्न सक्दैनन्। 'बसे पनि सहर, गाउँकै खाने रहर' भन्ने नारासहित सुरू पैंचोले पहाडी गाउँबाट झरेका तिनै उपभोक्ताको मन जित्यो।

उनीहरूले किसानको उत्पादन ल्याएबापत् चाहिने सामग्री उपलब्ध गराउन गुल्मी, बलेटक्सारमा पसल खोलिसकेका थिए। बुटवलमा पनि पैंचो पसल खोलेर तरकारी बेच्न थाले।

विस्तारै पैंचोका स्वाद यति मन पराइयो, गुल्मी, पाल्पा र अर्घाखाँचीका उत्पादनले मात्र माग धान्न सकेन। उनीहरू पश्चिमका रुकुम, रोल्पा, सल्यान, दैलेख र डडेल्धुरा पुगे। ती जिल्लामा पनि तरकारी, फलफूल, अन्न, गेडागुडी त्यसै खेर गइरहेका थिए। यता सहरमा उपभोक्ताको माग थामिसक्नु थिएन।

यसबीच पैंचोले आफ्नो बजार विस्तार मात्र होइन, उत्पादन पनि बढाउने योजना बनायो।

सुरूआतमा तरकारी, फलफूल, गेडागुडी ल्याएर बेचेको पैंचोले मकै, कोदो, फापर, दाल, बेसार, अमिलो (निबुवा) लगायत वस्तु प्रशोधन गरी बजार पठाउन थाल्यो। गुल्मीको रिडीमा मेसिन जडान गरी पिठो पिसानी सुरू गरियो। हाते मेसिनबाट निबुवा र ऊखु पेलेर चुक, खुदो, गुंड बनाउन थालियो।

गाउँघरका पिँढी र बार्दलीमा बोतलमा खाँदिएका अचार सुकाइन्थ्यो। मुला, साग र फर्सी कुटेर घैंटो र गाग्रीमा खाँदिन्थ्यो र सिन्की बनाइन्थ्यो। कर्कलोको मस्यौरा बनाइन्थ्यो। उनीहरूले पैंचोबाट पनि त्यस्ता सामग्री बनाएर बेच्न सुरू गरे।

उनीहरूलाई होटलका भान्सामा प्रयोग हुने जाम, केचप र अचारका कच्चापदार्थ गाउँमा फलेका तिनै अम्बा, भुइँकटहर, मेवा, स्याउ हुन् भन्ने थाहा थियो। उनीहरूले पहाडी क्षेत्रमा पाइने सबै प्रकारका फलफूलबाट जाम बनाउन थाले। टमाटरबाट केचप बनाए। मुला, अमला, तामा, खुर्सानी, आँप, कागती लगायतबाट अचार बनाउन थाले।

त्यस्तै, मकै, फापर र कोदोको पिठो, मार्सी चामल, जुम्लाको सिमी र बोडीको दाल, मह, घिउ, टिमुर, मरौठी, सिस्नो लगायत सबै प्रकारका उत्पादनको प्रशोधन गरे।

पैंचोले ६४ परिमाणमा ३८ थरिका वस्तु उत्पादन गर्दै आएको पैंचो, बुटवलका मिडिया तथा जनसम्पर्क निर्देशक शरण कर्माचार्य बताउँछन्।

'होटलको भान्सामा प्रयोग हुने ८० प्रतिशत सामग्री विदेशबाट आउँछ। जबकि ती सबैको कच्चापदार्थ हाम्रै बारी र कान्लामा उत्पादन हुने वस्तु हुन्,' उनले भने, 'हामी तिनै वस्तु प्रशोधन गरी होटलहरूमा पुर्‍याउने योजनामा छौं।'

पैंचोको बजार विस्तारसँगै लगानी र सदस्य संख्या पनि थपिएको छ। १६ जनाले सुरू गरेको पैंचो परिवारमा अहिले ३९ जना आबद्ध छन्। पुँजी पनि ६ करोड रूपैयाँबाट झन्डै २० करोड पुगेको छ।

पैंचोले पहाडी क्षेत्रका किसानलाई व्यावसायिक बनाउनुका साथै गाउँ र सहरको सम्बन्ध जोड्ने प्रयास गरेको छ। शरणका अनुसार, यो कम्पनीले १५ जिल्लाबाट कच्चापदार्थ ल्याउँछ। पछिल्लो समय स्याङ्जा, पर्वत र बाग्लुङका गाउँबाट पनि सामान ल्याउन थालेको शरण बताउँछन्।

ती सबैजसो गाउँमा संकलन केन्द्र छन्। किसानले त्यही केन्द्रमा आफ्ना उत्पादन ल्याइदिन्छन्। त्यसलाई एकमुष्ट बुटवल ल्याइन्छ। गेडागुडी, अन्न, चुक, बेसार, अदुवाको सुठो, छोप, अचार, जाम लगायत वस्तु गुल्मीको, रिडी प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ। त्यहाँबाट देशका विभिन्न सहरमा बेच्न लगिन्छ।

४० हजार किसान आबद्ध

पैंचोले व्यापार विस्तारसँगै सयौं व्यक्तिलाई रोजगारी दिएको छ। देशका १५ जिल्लाका ४० हजार किसानसँग वस्तु उत्पादन र बिक्रीवितरण सम्झौता गरेको छ।

कम्पनीका अध्यक्ष दुर्गा भण्डारीका अनुसार, २० देखि २५ हजार किसानले पैंचोका लागि नियमित उत्पादन गर्छन् भने १० देखि १५ हजारले सिजनमा उत्पादन गर्छन्।

'पैंचोबाट प्रत्यक्ष रूपमा साढे ३ सयले रोजगारी पाएका छन्, अप्रत्यक्ष रूपमा ४० हजार किसान लाभान्वित छन्,' उनले भने।

किसानले एक पाउ खुर्सानीदेखि आधा किलो सिमी, बोडी, करेलासमेत यहाँ ल्याएर बिक्री गर्छन्। हरेक बिक्री उनीहरूको खातामा चढाउँदै लगिन्छ। निश्चित रकम पुगेपछि त्यही मूल्य बराबरका घरायसी सामान लैजान्छन्। सामान लैजान नचाहनेले पैंचोमा दिएको कृषि उपज प्रशोधन गरी बिक्री भएपछि पैसा पाउँछन्।

गुल्मीका कतिपय किसानले पैंचोमै आबद्ध भएपछि एकै सिजनमा २० लाख रूपैयाँसम्मको टमाटर बेचेका छन्।

'धेरै उत्पादन त भइहाल्यो, जूठेल्नोमा फलेका खुर्सानी र मलखादमा उम्रिएका तरुल-गिठ्ठाले समेत बजार पाएको छ। विदेशमा रहेका छोरा-नातिले पैसा पठाएपछि मात्र सामान किनौंला भनेर कुर्नुपर्ने अवस्था अन्त्य भएको छ,' अध्यक्ष दुर्गाले भने।

राज्यको नीतिले थपिँदै चुनौती

राज्यले किसानलाई सहुलियत दरमा ऋण दिने भने पनि कार्यान्वयन हुन सकेको छैन। बैंकहरूले लगानी गर्न सहमति जनाइरहेका छैनन्। किसानको उत्पादन र बालीनालीप्रति बैंकको विश्वास देखिन्न।

शरण कृषि उपजलाई नै धितो मानेर जमिनको उत्पादन क्षमताका आधारमा राज्यले लगानी गर्नुपर्ने नीतिको खाँचो औंल्याउँछन्।

'सीमा-नाकाबाट खुला रूपमा तरकारी आउँछ, क्वारेन्टाइन परीक्षणको विधि मात्र राख्ने हो भने पनि पाल्पा, गुल्मीका किसानको एक-दुई ट्रक टमाटर बुटवलमा खपत हुनसक्ने अवस्था छ,' उनले भने।

भारतीय बजारबाट तरकारी तथा फलफूल निर्वाध भित्रिँदा वस्तुको मूल्य निर्धारणसमेत नेपाली किसान र व्यवसायीको हातमा छैन। यसलाई थोरै मात्र कडाइ गर्ने हो भने धेरै किसान लाभान्वित हुने उनीहरू बताउँछन्।

'हामीसँग आइडिया छ, जनशक्ति छ। तर यो अवधारणा देशभर फैलाउन पुँजी अभाव छ,' ध्रुवले भने, 'सरकारले कम व्याजमा ऋण दिने हो भने हामी देशका सबै प्रदेश र जिल्ला पुग्न सक्थ्यौं।'

यो सफलतासँगै ध्रुवलाई अचेल 'जेटिए'को छात्रवृत्ति त्यागेर कृषिमा लाग्ने निर्णय सही गरेँ भन्ने लाग्छ।

'मनमा पढ्न नपाउँदाको कमी महशुस त हुन्छ, तर हजारौं किसानको सारथि बन्न पाउँदा सन्तुष्टि छ,' उनले भने।

                                                                                            Source: setopati.com

Share It In :