मैलेजस्तो फेसबुकबाटै व्यवसाय सुरू गर्दा पनि हुन्छ

सबिना श्रेष्ठकाठमाडाैं, चैत ८

नेपालको पूर्वी तराईका घरका भित्ता र आँगन मिथिला कलाले सजिएको देखिन्छ। साधारण तर बिम्बात्मक बुट्टा हुने यो कला नेपालभर र विदेशबाहिर फैलनेक्रम बढ्दो छ।

त्यसैको उदाहरण ललितपुर, भनिमण्डलस्थित 'मिथिला हाउस' मा देख्न सकिन्छ। नामैले परिचय दिन्छ, यो मिथिला सभ्यता झल्काउने घर हो।

घरका बाहिरी भित्तामा मिथिला कला कुँदिएका छन्। भित्र मिथिला चित्रसहितका बोतल, ब्याग, सारी, सल, कप, गिलास, डायरी, कित्ली लगायत सामग्री किन्न सकिन्छ। ३२ वर्षीया तृष्णा सिंह भण्डारीले नौ महिनाअघि यो 'घर' बनाएकी हुन्।

'मिथिला कला विस्तारै फैलिरहेको छ। तर प्रायः पेन्टिङमा मात्रै सीमित थिए,' उनले भनिन्, 'हामीले दैनिक जीवनमा प्रयोग हुने सामानमा बुट्टा भरेर यसलाई व्यापक बनाउने प्रयास गरेका छौं।'

तृष्णा मिथिला नगरमा हुर्किएकी होइनन्, पोखरामा हो। उनका बाजेबराजु भने महोत्तरी बसेका रहेछन्। छुट्टीमा त्यहाँ पुग्दा नजिकै घरका भित्ता र आँगनमा देखिने कलात्मक बुट्टाले उनी मोहित हुन्थिन्। मिथिला कलाको विस्तारमा केही गर्नुपर्ला भन्ने सोच्थिन्।

वातावरण कानुन पढेकी तृष्णा 'इसिमोड' संस्थामा आबद्ध थिइन्। त्यहाँ पाँच वर्षको 'कन्ट्रयाक्ट' सकिएलगत्तै उनले मिथिला हाउस खोलेकी हुन्।

'काम छाडेपछि खासै केही गरिरहेकी थिइनँ। के गर्ने भनेर सोचिरहँदा मिथिला कलाको सानो आउटलेट खोल्ने सोच आयो,' उनले भनिन्।

'आउटलेट' खोल्नुअघि आफ्नै फेसबुकमार्फत सामानको विज्ञापन गरिन्। मान्छेले चासो देखाउन थालेपछि भनिमण्डलमा घर भाडा लिएर व्यवसाय सुरू भयो।

सुरूआतमा मिथिला कला जानेका कलाकार भेट्नै गाह्रो भयो। सबै काम जनकपुरबाटै हुन्थ्यो। विस्तारै यहीँ कलाकार भेट्न थालिन्। सेन्ट जेभियर्समा स्नातक पढिरहेकी वैशाली क्षेत्री र रौतहटकी वर्षा झाले यहाँका सामग्रीमा बुट्टा भरिरहेका छन्।

सोखका रूपमा चित्र बनाउने वैशालीले यहीँ आएपछि मिथिला चित्रका बुट्टा भर्न सुरू गरिन्। त्यसमा आफ्नै सोच र परिकल्पना हाबी गर्ने उनी बताउँछिन्।

वर्षा भने वरिपरि मिथिला चित्र हेर्दै–बनाउँदै हुर्किएकी हुन्। यसरी व्यवसायिक रूपमै काम भने पहिलो पटक गरिरहेकी छन्।

बायाँबाट क्रमशः वर्षा झा, वैशाली क्षेत्री र तृष्णा सिंह। तस्बिरः नारायण महर्जन/ सेतोपाटी

मिथिलालाई सातौं शताब्दीको कला मानिन्छ। राजा जनकले राम–सिताको बिहेमा जनकपुरदेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउन लगाएका थिए भनिन्छ। यसरी सुरू कला पछि हराउन थाल्यो।

एकपटक भारतको बिहारमा ठूलो भुइँचालो आएको थियो। त्यहाँको सरकारले उत्खनन् गर्दा कलात्मक भित्ता फेला परे। हराइसकेको कलाले पुनर्जीवन पायो।

'नेपाल र भारतबीच बिहारमा मधुवनी भन्ने ठाउँ छ, त्यहाँ बढी मिथिला कला छ। हाम्रोचाहिँ जनकपुरमा,' तृष्णाले भनिन्।

तृष्णालाई मिथिला कला जीवन्त लाग्छ। मधुवनी कला पनि भनिने मिथिलामा मान्छेको मुख मात्र नभई प्रकृति, जनावर र प्रतीक हुने उनी बताउँछिन्। यसमा प्रयोग हुने रङको पनि आफ्नै विशेषता छ।

यहाँका सामान सबै हातैले बन्छन्। मिहिन बुट्टा भरेपछि 'वार्निश' गरिने भएकाले रङ टिकाउ हुन्छ। लुगा होस् वा पानीको बोतलजस्तो दैनिक उपभोग्य सामान, यसरी नै तयार हुन्छ।

'हामीले बनाएका सामानमा अहिलेसम्म कुनै गुनासो छैन। तपाईं त्यो सामानलाई हातले वा मेसिनले धुनुस्, केही हुँदैन,' तृष्णा भन्छिन्, 'हामी सामानको गुणस्तरमा सजग छौं।'

यहाँ मान्छेले आफ्नै चाहनाअनुसार सामान 'कस्टमाइज' पनि गर्न सक्छन्। त्यसलाई मिथिला कलामा परिवर्तन गरेर बनाइन्छ। जस्तो, कुनै सामग्रीमा आफ्नो अनुहार राख्न चाहे, त्यसमा फूल, माछा लगायत बुट्टा भरेर मिथिलाकरण गरिन्छ।

यहाँ पाइने बोतल, कप लगायत सामग्री काठमाडौंमै किनिएका हुन्। सारी, सल भने भारतको मधुबनी, कलकत्ता लगायत ठाउँबाट ल्याइन्छ। नेपालमा धेरै सारी उत्पादन नहुने भएकाले भारतबाटै प्लेन कटन, सिल्कका सारी ल्याएर यहाँ रंगाइने तृष्णाले बताइन्।

'मेक योर ओन सारी (आफ्नो सारी आफैं बनाऊ)' भन्ने अवधारणामार्फत ग्राहकले आफ्नो रोजाइअनुसार बुट्टामा सारी मगाउन सक्छन्। ती सारी दस दिनभित्रमा तयार हुन्छन्।

सय रुपैयाँदेखि १४ हजारसम्मका सामग्री यहाँ पाइन्छ। हातैले बुट्टा भर्दा एउटा बोतल बनाउनै दुई दिन र सारी बनाउन साता दिन लाग्छ। त्यसमा लाग्ने मिहेनत र समय मान्छेले बुझेको तृष्णा बताउँछिन्।

विस्तारै उनीहरू नेपालमा बनेका अन्य सामानसँग सहकार्य गर्दै काम गर्ने तयारीमा छन्। दैनिक प्रयोगमा आउने टि–सर्ट, प्यान्ट, ज्याकेट लगायत बनाउने योजना छ। तृष्णाका अनुसार आफूहरू वातावरणप्रति सचेत र संवेदनशील भएकाले प्लास्टिकमा सामग्री भने यहाँ पाइँदैनन्।

तृष्णालाई लाग्छ– कलाबाट वार्तालाप सुरू हुन्छ। एउटा साधारण कपमा कला भरिएको छ भने पनि मान्छेलाई के–कस्तो भन्ने खुल्दुली हुन्छ। त्यही खुलदुलीबाट प्रश्न जन्मिन्छन्।

त्यसको उदाहरण उनी आफैं पनि भएकी रहिछन्। एकपटक साथीको घर पुग्दा उनले मिथिला चित्र भएको ब्याग बोकेकी थिइन्।

त्यहाँ आएकी एक महिलाले 'तिम्रो ब्यागमाजस्तै मिथिला चित्र भएको सारी एउटा विदेशीले लगाएर बिहेमा आएकी थिइन्' भनिछन्।

ती विदेशीलाई उनले 'कहाँ किनेको?' भनेर सोध्दा मिथिला हाउसबाट भनेको पनि ती महिलाले तृष्णालाई सुनाइन्।

'यसरी आफ्नो सामानको प्रचार भइरहेको सुन्दा अचम्म र रमाइलो दुवै लाग्यो,' तृष्णा भन्छिन्।

विस्तारै दैनिक उपभोग्य सामान हुँदै मिथिला खाना पनि समेट्ने सोचमा छिन् उनी। त्यसका लागि त्यहीँका कुक र सर–सामाग्री ल्याउने तयारी गर्दैछन्।

यहाँ महिनाको एउटा शनिबार मिथिला कक्षा पनि सञ्चालन हुन्छ। सिक्न इच्छुकले आफ्नो नाम दर्ता गराउन सक्छन्। एकपटकको कक्षामा १५ जनासम्मलाई सिकाइन्छ। कक्षाको मुख्य विषय हो- मिथिला कलाको ज्ञान, चित्रको संकेत बुझाँउदै चित्र बनाउन सिकाउनु। 

यसरी कला, परम्परा र खाना एकसाथ फैलाउने मिथिला हाउसको उद्धेश्य हो।

'मिथिला क्षेत्रका मान्छेले त यी सबै देख्दै आउनु भएकाले साधारण मान्नुुहुन्छ। यस्तो पनि काठमाडौंमा बिक्छ र भन्ने सोच्नुहुन्छ। आफ्नो पहिचानको महत्व काठमाडौंले बुझेकोमा दंग पनि पर्नुहुन्छ,' तृष्णाले भनिन्, 'विस्तारै त्यहाँका मान्छेलाई सक्षम बनाउनु पनि हाम्रो लक्ष्य हो। उहाँहरूको सीप यहाँ ल्याउने सोच छ।'

तृष्णाले करिब तीन लाख लगानीमा मिथिला हाउस खोलेकी हुन्। यहाँको आम्दानी नै आगामी योजनामा लगाउने तयारीमा छन्।

इसिमोडको जागिर छाडेलगत्तै यो व्यवसाय सुरू गरेकाले तृष्णाले अनुसन्धान भने त्यति गर्न पाइनन्। बरू काम गर्दै सिक्न थालिन्। व्यवसाय सुरू गर्दा अध्ययन–अनुसन्धान गर्नुपर्छ भन्ने धेरैको सोच हुन्छ, उनको विल्कुलै फरक छ।

'मैले काम गरेपछि बल्ल मिथिलाबारे खोज्न थालेकी हुँ। पहिले नै खोजी थाल्दा दिमागमा यत्ति धेरै कुरा आउँछ कि आँटै गर्न सकिन्न,' उनले भनिन्, 'अहिले भने बजार अध्ययनदेखि, जनकपुर, ह्याण्डीक्राफ्टवाला अध्ययन पनि गरिरहेकी छु।'

व्यवसायबारे ज्ञान नहुँदा धेरै गल्ती भएको र अवसर गुमाउन परेको भने उनी स्वीकार्छिन्। उनले पहिले नै कलाकारसँग राम्रो सम्पर्क बढाएकी थिइनन्। जब काम आउँथ्यो तब सम्पर्क गर्थिन्। त्यसो गर्दा उनले होटल, संस्थाबाट पाएको राम्रो अवसर गुमाइछन्।

'मैले गलत च्यानल बनाएकी थिएँ। मलाई यस्तो पनि हुनसक्छ भन्ने थाहै थिएन। अहिले भने कलाकारहरूसँग राम्रो सम्बन्ध बनाएकाले त्यो समस्या हुँदैन,' उनले भनिन्।

तृष्णाका अनुसार उद्यम गर्न चाहनेका लागि यो सही समय हो। झन् महिला उद्यमीलाई त सरकारले पनि छुट र सेवा दिएको छ। यता सामाजिक सञ्जालहरूले आफ्ना उत्पादन प्रचार गर्न पनि सघाएको छ।

'पहिलेजस्तो गाह्रो छैन, अवसर छन्। मैलेजस्तो फेसबुकबाटै व्यवसाय सुरू गर्दा पनि हुन्छ,' उनले भनिन्, 'उद्यमी बन्नु छ भने आँट्न सक्नुपर्छ। गर्छु भन्ने भयो भने हुन्छ।'

सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी

 

मिथिला हाउससँग फेसबुक पेज वा ९८१८६५९८०५ मा सम्पर्क गर्न सकिन्छ।

Source : https://www.setopati.com/nepali-brand/202022

Share It In :