२० वर्ष कोरियामा दुःख पाए, 'घैंटे चिया' ले दियो सन्तुष्टि

आफ्ना काइँला मामाले यो खबर सुनाउँदा प्रेम गुरुङ कोरियामा थिए। खबर सुनेको निकै बेरसम्म उनी मूर्तिझैं भए। कामिरहेको गोडामा घोप्टिएर भक्कानिए। आमालाई नदेखेको दुई-चार वर्ष होइन, पन्ध्र वर्ष भइसकेको थियो। यो यथार्थले उनको मन झनै पोल्यो। प्रेम त्यसअघि दमको रोगी आमालाई ढिलै भए पनि नेपाल फर्केर भेट्ने बलियो विश्वासमा थिए। सन् २००७ को त्यो घटनाले उनको विश्वास काँचो धागोझैं चुँडियो। परदेशी भूमिमा उनको मन काटिएको चंगाझैं निरीह बन्यो। त्यो क्षण उनलाई आफैंमाथि दया लागेको जीवनकै कमजोर पल थियो। उनलाई के थाहा, विदेश जान आमाको आशीर्वाद लिएर ताप्लेजुङ छाडेर काठमाडौं आएकै दिन आमासँगको अन्तिम भेट हुनेछ। थाहा हुन्थ्यो त विदेश जान्थेनन् कि? अर्को विडम्बना, आमा बितेको दिन उनले कामबाट बिदा पाएनन्। कोरियामा भाषाको समस्या, मालिकको गाली, एक्लोपनको न्यास्रोजस्ता दुःख त भोगेकै थिए। आमा बितेका बेलासमेत बिदा नपाउँदा उनलाई त्यसअघिका सबै पीडा कम लागे। 'नुन नखाई काम गरेँ। काम गर्ने ठाउँमै आमा सम्झेर भक्कानिन्थेँ, आज पनि रुन पुग्छु,' बोल्दाबोल्दै खसखसाएको गला खुलाउन खोज्दै उनी भन्छन्। घर-परिवारको सुखकै निम्ति काम सिक्दै पैसा कमाइरहेको छु भनेर चित्त बुझाउने बानी परेको थियो कोरियामा। आमाको देहान्तपछि कोरिया बसाइँ उनलाई खुला कारागार लाग्यो। तीन बहिनीका दाजु उनी परिवारमा एक मात्र छोरा थिए। उनको अनुपस्थितिमा बुबाले आमाको दागबत्ती दिए। सन् २०१० मा नेपाल फर्केर फेरि प्रेमले आमाको दागबत्ती गरे, बल्ल उनको मनले थोरै शान्ति पायो। प्रेम नेपाल फर्केको दस वर्ष बितिसकेको छ। आज पनि उनी आमालाई 'मिस' गरिरहेका हुन्छन्। ४८ वर्षीय उनी नेपाल छाड्दा २० पुग्नै लागेका थिए, फर्किँदा उमेरले ४० छुन लागेको थियो। 'लामो समय विदेश बसेर फर्किँदा दिमाग नै 'डल' थियो,' उनी आफ्नै अवस्था सम्झन्छन्। झन्डै दुई दशक कोरिया बसाइँ क्रममा उनले अनुशासन र परिश्रम सिके। सुरूमा त भाषा नजान्दाको मार खेपेका थिए। फर्किँदा उनी गुरुङ भाषाभन्दा कोरियन राम्रो बोल्थे। फर्केर केही नयाँ काम गर्ने धून थियो। सबभन्दा पहिला भाषा सिकाउने कामलाई प्राथमिकता दिए। सन् २०११ मा स्थापना गरेको 'कोरियन भाषा प्रशिक्षण केन्द्र, शिन्ह्वा' मा अहिले सयौं विद्यार्थी छन्। प्रेम भन्छन्, 'त्यहाँ हरेक कक्षामा म विद्यार्थीलाई विदेश त जानू, तर मजस्तो लामो समय नबिताउनू, नत्र फर्किंदा आफ्ना प्रियजनसँग भेट नहुन सक्छ भनेर आफ्नै कथा सुनाउँछु।' यसबीच उनले रेकर्डिङ स्टुडियो र 'तोङ्बा हाउस' मार्फत् कर्म गुडाउने प्रयास गरे। सफलता भने मिलेन। झन्डै दुई वर्षको तयारीपछि खोलेको 'घैंटे चिया' ले बल्ल उनलाई उत्साहित बनाएको छ। जावलाखेलस्थित 'घैंटे चिया' फरक स्वादको चिया घर हो। भन्छन्, 'ग्राहकको प्रतिक्रियाले केही फरक काम गर्ने सपना नजिकै पुगेको महशुस गरेको छु।' धेरै ग्राहकबाट उनले पाउने प्रतिक्रिया हो– घैंटे चिया पिउँदा बाल्यकाल र गाउँको सम्झना आउँछ। सात महिनाअघि बागबजारमा आफ्ना मामा-ससुरासँगको साझेदारीमा उनले 'घैंटे चिया' खोलेका थिए। गत कात्तिक १ देखि ललितपुरमा एकल रूपमा सञ्चालन गर्दैछन्। 'घैंटे चिया' को नाम प्रेमको ताप्लेजुङ बसाइँले फुराएको हो। उता छउन्जेल उनी घैंटोमा राखेको पानी पिउँथे। आफूजस्तै पाहुनादेखि बटुवासम्म घैंटोको पानीले तृप्त भएको देखेका उनले सहरमा पानी पिउँदा त्यो तृप्ति पाएनन्। माटाका घैंटा लोपोन्मुख छन्। चिया व्यवसाय गर्ने तयारीमा उनलाई त्यही गाउँमै छुटेको घैंटो याद आयो। उनले घैंटोमा चिया पिउने चियाघर मात्रै खोलेनन्, थोरै परिमार्जन गरेर नाम पनि 'घैटें' बनाए। फरक नामसँगै फरक स्वाद पनि जरुरी थियो। स्वादमा पनि उनले गाउँकै सम्झना जोडिदिए। तताएको दूधको भाँडामा बसेको कुराउनीको डढेको स्वाद सम्झे। त्यसमा अलैंची, सुकमेललगायत मसला थपे। भन्छन्, 'छोटो मीठो नाम घैंटैजस्तै यसको स्वाद पनि छोटो समयमै ग्राहकको जिब्रोमा झुन्डिसकेको छ।' चियाका पारखीमा लामो दूरी भए पनि आफ्नो रोजाइको चिया पसल पुग्ने जाँगर हुन्छ। प्रेमका अनुसार, ललितपुर मात्र होइन, बौद्ध, कीर्तिपुरसम्मका चिया पारखीको गन्तव्य बनिरहेको छ 'घै‌ंटे'। बिहान ७ देखि राति १० बजेसम्म खुल्ने 'घैंटे' मा दैनिक १५० देखि १७५ कपसम्म चिया बिक्ने उनी बताउँछन्। सात बजे खुले पनि दुई घन्टा दूध तताएर डढाउनै लाग्छ। त्यसैले ५ बजेदेखि नै चियाको तयारी हुन्छ। यहाँ भैंसीको दूध चापागाउँबाट ल्याइन्छ भने चियापत्ति इलामको प्रयोग हुन्छ। चिया मुख्य भए पनि यहाँ नेपाली, चाइनिज र कोरियन खाजा पनि पाइन्छ। प्रेम जोड दिँदै भन्छन्, 'यहाँ आउने हरेक ग्राहकले केही न केही कुरा मन पराउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।' उनको विश्वास छ, घैंटे छिर्ने हरेक ग्राहकले खानेकुराको स्वादसँगै यहाँको वातावरण, अनुशासन, भाँडाकुँडादेखि सजावटसम्मका कुरामा विशेष ध्यान दिइएको महशुस गर्नेछन्। खानेकुरा आउँदै गर्दा मन बहलाउने कुरा भएकाले ग्राहकले कुरेको महशुस नगर्ने उनको दाबी छ। त्यसका लागि पत्रपत्रिका, किताब, वाइफाइ र टेलिभिजन छ। कति ग्राहक त यहाँको सानो ठाउँमा पनि धेरै कुरा अटाएको देखेर केही बेर भुलिन सक्छन्। यहाँ नेपालकै माटोबाट उत्पादित कप-गिलास प्रयोग गरिन्छ, जहाँ हरेकमा घैंटे लेखिएको छ। मौलिक रूखका बोक्रा, डोको, स-साना मट्कादेखि ठेकीसम्म सजाइएको छ। ठेकीमा बिजेसालको पानी छ, जसले विभिन्न रोग निको पार्ने उनी बताउँछन्। साना मट्कामा साइनपेनले लेखेर सम्झना छाड्न सकिन्छ। नेपालीबाहेक कोरिया, सिंगापुर, जर्मनी र अस्ट्रेलियाबाट मगाइएका चिजबिज पनि धेरै छन्। प्रेमले 'सर्भिसिङ' मा पनि उत्तिकै ध्यान दिएका छन्। नौ जना कर्मचारीमध्ये वेटरले विशेष ध्यान पुर्‍याउनुपर्छ। ग्राहकसँग बोल्दा थुकको बाछिटा नपरोस् र सास नगनाओस् भनेर पारदर्शी मास्क लगाएका वेटर देख्दा ग्राहकको सुविधाप्रतिको संवेदनशीलता झल्किन्छ। ग्राहकसँग कस्तो व्यवहार गर्ने भनेर कर्मचारीलाई तालिम दिने उनी कर्मचारीप्रति पनि संवेदनशील भएको दाबी गर्छन्। भन्छन्, 'कोरियामा मैले मालिकको शोषण भोगेको छु। त्यसैले कर्मचारीसँग राम्रो व्यवहार गर्नुपर्छ भन्ने बुझेको छु। कर्मचारी सन्तुष्ट नभए ग्राहकलाई सेवा दिन सकिन्न।' रमाइलो कुरा, घैंटे चियाघर खुल्नुअघि यो ठाउँमा जम्मा बीस जनाजति अट्ने क्याफे थियो। उनले त्यो सानो ठाउँलाई आफैं खटेर ५५ जनासम्म अट्ने बनाएका हुन्। सानो ठाउँमा धेरै मान्छे र सामान अटाउने यो कला उनलाई कोरियाकै अनुभवले सिकाएको हो। घैंटे चियाघरलाई छोटो समयमै स्थापित गर्न सफल उनले अब केही वर्षमै राजधानीका थप दुई ठाउँमा विस्तार गर्ने योजना बुनेका छन्। प्रेम यो व्यवसायलाई नितान्त नाफा कमाउने उद्देश्यसँग मात्रै जोड्दैनन्। 'पैसामात्रै कमाउने लक्ष्य भएको भए, धेरै नेपालीजस्तै जग्गा वा घरमा लगानी गर्थें,' भन्छन्, 'यसको उद्देश्य नेपाली पहिचान र क्षमता स्थापित गर्नु पनि हो।' दैनिक औसत पन्ध्र सय युवा विदेशिने आँकडाले प्रेमलाई पोल्छ, 'यो बाध्यता लाजमर्दो छ।' उनी यस्तो व्यवसाय गर्न चाहन्छन्, जसले थोरै युवालाई भए पनि यहीँ केही गर्न सकिन्छ भन्ने प्रेरणा दियोस्। आफ्नो कामले केहीलाई रोजगारी दिन सकेकोमा उनी सबभन्दा बढी खुसी छन्। 'जीवनको यो चरणमा सन्तुष्ट र भविष्यप्रति आशावादी पनि छु,' उनी भन्छन्, 'यो सन्तुष्टिमा एउटै कुराले बिझाउँछ। काश, मेरो सफलता आमाले देख्न पाउनुभएको भए...!'

Share It In :